
काठमाडौं— नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ।
कोरोनाको आशंकामा नमूना परीक्षण गर्दा नयाँ सब भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार उक्त भेरियन्टको नाम ‘केपी–१’ र ‘केपी–२’ रहेको छ।
‘काठमाडौंकै केही व्यक्तिहरुको स्वाब परीक्षण गर्दा नयाँ सब भेरियन्ट फेला परेको हो। जसको नाम केपी–१ र केपी–२ दिइएको छ,’ उनले भने।
त्यस्तै उक्त भेरियन्ट त्यति धेरै संक्रामक र जोखिमपूर्ण नरहेकोले डराउनुपर्ने अवस्था नरहेको उनले बताए।
सामान्य रुघाखोकीकै जस्तो लक्षण र निको हुने भएकाले त्यसलाई त्यति चासोका साथ नलिइएको उनले बताए।
‘त्यसको संक्रमणको जोखिम त्यति धेरै नहुने र सामान्य रुघाखोकी जस्तै हुने भएकाले त्यति डराइहाल्नुपर्ने देखिँदैन,’ उनले भने।
त्यस्तै अन्य ४४ वटा ‘स्याम्पल’हरु परीक्षण गरिएको र त्यसबाट पनि सामान्य भेरियन्टहरु देखिएको उनले बताए।
नेपालमा अहिले पनि कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको छ।