
काठमाडौं— वैवाहिक बलात्कारको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँबानेश्वर बस्ने ३५ वर्षीय पुरुष हुन्।
उनले ३२ वर्षीया महिलासँग वैशाख ७ गते काठमाडौंमा बिहे गरे। विवाहको एक साता मै पत्नीले पतिविरुद्ध वैवाहिक बलात्कारको उजुरी दिएकी हुन्।
उनीहरु बिहेपछि काठमाडौं महानगरपालिका–१० बानेश्वर सहभागिता मार्गस्थित डेरामा बस्थे। वैवाहिक बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरी वृत्त नयाँ बानेश्वरले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
आरोपितलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ।
यस्तो छ घटना
पीडित करिब ७ देखिजापानमा थिइन्। आरोपित र पीडित सामाजिक सञ्जालमार्फत नजिकिएका थिए। परिवारमार्फत चिनजान भएपछि सोसल मिडिया मार्फत कनेक्ट भएर कुराकानी गरेको र विवाह गरेको पुरुषले प्रहरीसँगको बयानमा बताएका छन्।
नेपाल फर्केपछि पीडित र आरोपितबीच बत्तिसपुलतीस्थित एक रेष्टुरेन्टमा विवाह हुन्छ। विवाह भएको दिन शारीरिक सम्पर्क नभएको र भोलिपल्ट एक पटक सहमतिमा शारीरिक सम्पर्क भएको आरोपितले प्रहरीसँगको बयानमा भनेका छन्।
तर, विवाह गरेको एक सातामा अर्थात वैशाख १३ मा उनीहरूबीच मनमुटाब सुरु भयो।
आफ्नो बुबासँग पत्नीले ‘कार्यालयमा लेडिज स्टाफहरुसँग सम्बन्ध रहेछ’ भनेपछि मनमुटाब सुरु भएको आरोपितले प्रहरीलाई बयान दिएका छन्। बयानमा भनेका छन्, ‘१४ गते बिहान पीडितलाई उनको दिदीले घर कुर्न बोलाएपछि मैले नै त्यहाँ छोडेर आएँ, त्यसपछि मविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको हो।’
सहभागिता मार्गस्थित डेरामा इच्छा विपरीत नव दुलाहाले आफूलाई ‘जबरजस्ती करणी’ गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्। जाहेरीमा भनिएको छ, ‘वैशाख ८ गते रातिदेखि मलाई इच्छा विपरीत जबरजस्ती करणी गरेका हुन्, करणी गर्न नमान्दा चिमोट्ने, कुटपिट गर्ने र अन्तिम पटक वैशाख १३ मा करणी गर्न खोजेपछि मैले ‘म सक्दिनँ’ भन्दा कुटपिट गरे।’ पुरुषको ३ वर्षअघि डिभोर्स भएको थियो। उनीहरू दुवैले दोस्रो विवाह गरेको हुन्।













