-1716284549.jpg)
काठमाडौं— कागेश्वरी मनोहरा–५ स्थित थलीमा मृत अवस्थामा फेला परेका कृष्ण नगरकोटीको परिवार चरम गरिबीमा रहेको पाइएको छ।
मंगलबार बिहान ५ः२० बजेको समयमा कृष्णको शव फेला परेको थियो।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनका छोरा रिचेन नगरकोटीलाई आत्महत्या प्रयास गर्दागर्दै उद्दार गरेको छ। मंगलबार दिउँसो रिचेनलाई चोभार चाल्नाखेलबाट उद्दार गरिएको प्रहरीले जनाएको छ।
मृतक कृष्ण विगत १५ वर्षदेखि ट्याक्सी चालकको रुपमा काम गर्दै आइरहेकोमा चरम आर्थिक अभावका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनकी श्रीमतीले छाडेपछि छोरी रश्मि र छोरा रिचेनको साथमा बस्दै आइरहेकोमा कोठाभाडा तिर्ने पैसा समेत नभएपछि उनीहरु तीन महिनादेखि ट्याक्सीमै बस्दै आइरहेका थिए।
मृतक कृष्णका छोरा रिचेन र छोरी रश्मी दुवै मानसिक रुपमा कमजोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार मृतक कृष्ण सोमबार राति १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै रिचेनलाई लिएर मिस्त्री लिन भनेर गएका थिए। सो क्रममा कृष्णले आत्महत्याको लागि मुखमा कपडाले छोपी ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकालीको जंगलमा आत्महत्या गर्नु र पनि आत्महत्या गर्छु भन्दै छुट्टिएको उनको छोरा रिचेनले प्रहरीसँगको बयानमा बताएका छन्।
प्रहरीको बयानमा रिचेनले आफ्नो परिवार चरम गरिबीको अवस्थामा रहेका कारण आत्महत्याको बाटोमा जानुपरेको बताएका थिए। रिचेनलाई मंगलबार प्रहरीले ब्लेडले घाँटी काटी आत्महत्याको प्रयास गर्दाको अवस्थामा फेला परी उद्दार गरेको हाे। प्रहरीका अनुसार उनले घाँटीको दायाँपट्टी झण्डै ७–८ सेन्टिमिटर ब्लेडले काटिएको अवस्थामा फेला परेका रिचेनको साथबाट २ वटा जिलेट ब्लेड समेत फेला परेको छ।
त्यस्तै मृत अवस्थामा फेला परेका कृष्णको पनि दाहिने हातको बुढी औला र चौर औलामा ब्लेडले काटेको पाइएको र उनको लास नजिकै ४ वटा जिलेट ब्लेड फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलबार सेतोपुल नजिकै रहेको बा.१.ज ९६५ नम्बरको ट्याक्सीमा बसिरहेकी उनकी छोरी रश्मिलाई उद्दार गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।













