News Griha :: न्यूजगृह
उपेन्द्रको दुवै रिटको पेसी आज 

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको दुवै रिटको पेसी आजका लागि तोकिएको छ। 

यादवले आफ्नो दल जसपा नेपाल विभाजनविरुद्ध र प्रधानमन्त्रीले विश्वासको मतविरुद्धको रिटको पेसी आजका लागि तोकिएको हो। 

अशोक राईको नेतृत्वमा अर्को दल जनता समाजवादी पार्टी (जसपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै उपेन्द्रले रिट दायर गरेका थिए।  

उक्त रिटउपर आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी परेको छ। 

यसअघि गत जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। 

राजनीति दलसम्बन्धी कानुन निष्क्रिय भइसकेको अवस्थामा दल फुटाइएको भन्दै यादवले आयोगले थालेको सनाखत प्रक्रिया रोक्न माग गरेका छन्। त्यसो त आयोगले आगामी जेठ १२ गतेसम्म सनाखत गर्न निर्देशन दिएको छ। 

यादवले दायर गरेको उक्त रिट इजलास नम्बर ४ को अन्तिममा परेकाले आज सुनुवाइको सम्भावना कम रहेको बताइएको छ। 

त्यस्तै यादवले प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्नो दलबाट फुटेर गएको जसपाका सांसद्हरुले मतदान गर्न नपाउने भन्दै रिट दायर गरेका थिए। 

यसअघि सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो।

उक्त रिट उपर पनि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ।यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै विश्वासको मत लिइसकेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:३५
Weather Update