
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार पेसी तोकिएको थियो। ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेसी रहेको थियो।
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।
अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेसी सरेको छ भने प्रधानमन्त्रीले विश्वासको मत लिएका छन्। प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउँदै विश्वासको मत लिएका छन्। उनलाई राई पक्षका ७ जनाले पनि मत दिएका छन्।
यादवले उनीहरूलाई रोक्न सभामुखलाई पनि पत्र पठाएका थिए। तर सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराएका थिए। यादवले राई पक्ष हाल कुनै पनि दलमा नरहेकाले विश्वासको मत दिन नमिल्ने जिकिर गरेका थिए।
अब मंगलबार मात्र यो विवादमा सुनुवाइ हुँदै आदेश हुने छ। मंगलबार हुने सुनुवाइमा यसको औचित्यमाथि पनि बहस हुने छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेकाले रिट खारेज पनि हुनसक्ने सम्भावना देखिन्छ। त्यस्तै मंगलबार नै यादवले दायर गरेको दल विभाजनको मुद्दाको पनि पेसी तोकिएको छ।