News Griha :: न्यूजगृह
कांग्रेसलाई प्रचण्डको चेतावनी– तपाईँहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को आजको गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। 

आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसले अवरोध कायम गरिरहेको छ। 

सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका छन्। 

कांग्रेसले होहल्ला गरिरहँदा जबरजस्ती रुपमा विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो। 

सो क्रममा सत्तारुढ दल एमालेको तर्फबाट विष्णु पौडेलले संसद्मा सम्बोधन गर्दै आफ्नो दलको विश्वासको मत दिने जानकारी गराएका थिए। साथै यसअघि भन्दा प्रधानमन्त्रीप्रति संसद्को विश्वास बढेको बताएका छन्। त्यसपछि पुनः रोस्टममा पुगेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसले आज संसद्मा गरेको गतिविधि इतिहासमा कलंकको रुपमा स्थापित हुने भन्दै कटाक्ष गरे।  

‘नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको तपाईको गतिविधि राम्रैसँग इतिहासमा राम्रोसँग स्थापित हुनेछ कलंकको रुपमा।’ 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले संसद्मा निरन्तर विरोध जनाउँदै आइरहेको थियो।

लामो समय संसद्को कामकारबाही अवरुद्ध भएपछि शनिबार सत्ता र प्रतिपक्ष दलहरु संसदीय छानबिन समिति बनाउन तयार भएका थिए। तर त्यसको क्षेत्राधिकार निर्धारणका लागि बनाइएको कार्यदलले क्षेत्राधिकार तय गर्न नसक्दा संसद्मा थप अवरोध सिर्जना भएको हो। 

अहिले संसद्मा कांग्रेसको अवरोध कायमै रहँदा विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको छ। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:५३
Weather Update