News Griha :: न्यूजगृह
कार्यादेश तय नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह, कार्यदलको बैठकमा पुगे लेखक 

काठमाडौं— विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय नभएसम्मका लागि संसद् बैठक नचलाउन आग्रह गरेका छन्। 

आज कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्मका लागि बैठक नचलाउन सभामुखलाई आग्रह गरेको हो। 

विपक्षीहरुको बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) सभामुखको कार्यकक्षमा पुगेर त्यस्तो आग्रह गरेको सभामुखको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 

‘छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षीको आग्रह।  विपक्षी बैठकपछि निर्णय सुनाउन ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा आउनुभएको थियो,’ उनले भने। 

त्यस्तै अहिले शनिबार गठित कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी रहेको छ। जारी बैठकबाट सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरबारस्थित कानुन मन्त्रालयतिर लागेका छन्। 

karyadal_sahakari-chhanbin-samiti-(1)-1716101323.jpg
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा निरन्तर अवरोध गरेपछि संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका हुन्। 

शनिबार कानुनमन्त्री पदम गिरीको नेतृत्वमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहनेगरी कार्यदल गठन गरिएको हो।  

संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष लचक भएपछि तत्कालका लागि संसद्को अवरोध हटे पनि छानबिन समितिको टीओआर तयार नभइ बैठकमा अवरोध कायमै रहने देखिएको छ। 

कांग्रेसले गृहमन्त्री लामिछानेको विषयमा छानबिन हुनुपर्ने मागलाई मुख्य बनाइरहेको अवस्थामा रास्वपासहित अन्य सत्तारुढ दलहरुले भने देशभर रहेका सहकारीको समस्या समाधान हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखिरहेको छ। 

जसकारण बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अनिश्चित बनेको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १२:१७
Weather Update