News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी 

काठमाडौं—सरकारी ठगी प्रकरणको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने सहमतिपछि बनेको कार्यदलको बैठक बसेको छ। 

आज बसेको कार्यदलको बैठकले सहकारीको पैसा अपचलनका विषयमा छानबिनका लागि बन्ने समितिको कार्यादेश टुंगो लगाउनेछ। 

कानुन मन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल उपस्थित रहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको थियो। सोही विषयले कांग्रेसले निरन्तर संसद्मा अवरोध खडा गरेपछि शनिबार सत्ता र प्रतिपक्षको सहमति अनुसार छानबिन समितिको कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको हो।

सहकारीको पैसा अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद्मा अवरोध गरेपछि सरकार संसदीय समिति बनाएर छानबिन गर्न तयार भएको हो।

आज प्रतिनिधि सभा बैठक बस्दैछ। त्यसअघि साढे १० बजे सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका छन्। 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:२१
Weather Update