
काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्।
उच्च अदालत पाटनले सफाइ दिएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।
'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,' उनले भने।
उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।
उनले आफ्नो निर्दोषितामा विश्वास गरेर साथ दिने लाखौं शुभचिन्तकलाई पनि धन्यवाद दिए।
सन्दीपले भने, ‘कठिन अवस्थामा पनि मलाई तपाईँहरूको साथ र हौसलाले बलियो बनाइराख्यो। यसका लागि म सदा ऋणी रहनेछु। समर्थकहरूको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ।’
यसैबीच, स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी२० विश्वकप २०२४ खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउने भएको छ। उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो।
‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने।