
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ।
केहीबेरअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो।
आज राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रममा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि कांग्रेसले बैठक बोलाएको थियो। यसअघि सोमबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ।
आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदा समेत कांग्रेसले सोही मागलाई अघि सारेर नीति तथा कार्यक्रममा अवरोध गर्ने भएपछि प्रधानमन्त्रीदेखी सभामुखसम्मले निरन्तर संवाद गरिरहेका छन्।
त्यसो त आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए। कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकसँग भएको छलफलमा प्रधानमन्त्रीले संसद्मा अवरोध नगर्न आग्रह गरेका थिए।