News Griha :: न्यूजगृह
कांग्रेस नेताहरूसँग प्रधानमन्त्रीको छलफल: नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक अवरोध नगर्न आग्रह

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद्को बैठकमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । 

प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए। भेटमा प्रधानमन्त्री दाहालले आफूले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि प्रयास गरेको भन्दै राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नगर्न आग्रह गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।  

‘प्रधानमन्त्रीजीले सत्ता गठबन्धनभित्र आफूले संसदीय समिति बनाउन प्रयास गरेको कुरा सुनाउनुभयो। र उहाँले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा अवरोध नपुर्याउन आग्रह गर्नुभएको छ,’ लेखकले भने, ‘यसपछि लगत्तै हामी संसदीय दलको बैठक बस्दैछौँ। त्यही बैठकबाट यसबारे निर्णयमा पुग्छौँ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमै अवरोध गरेको थियो। 

प्रधानमन्त्री दाहाल सहकारी प्रकरणमा व्यक्तिको नाम नजोडी छानविन समिति बनाउन तयार भएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले सो प्रस्ताव अस्वीकार गरेका छन्। 

प्रधानमन्त्री दाहालसँग छलफलका लागि कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक मंगलबार बिहानै बालुवाटार पुगेका थिए। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०८:४९
Weather Update