काठमाडौं— साताको दोस्रो दिन आज शेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ बिन्दुमा पुगेको छ।
९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। शेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ।
आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० बिन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।
१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ।
१४८ कम्पनीको शेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो। उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै सीइबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ।