News Griha :: न्यूजगृह
प्रचण्डको प्रष्टोक्ति– जीबी राईलाई भगाएको हल्ला बेतुकका कुरा हुन्
तस्बिर : प्रदीपराज वन्त

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा भएको बताएका छन्।

आइतबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले भने, 'कुतर्क कसैले पनि नगरौँ। जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ। पासपोर्टको इस्युले गर्दा समस्या भएको हो। त्यसलाई हल गर्न खोजिँदैछ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो।' 

शनिबार मात्रै चितवन पुगेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भरतपुर विमानस्थलमै पत्रकारहरूसँग कुरा गर्दै जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए। प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको अभिव्यक्तिलाई बेतुकको तर्क भन्दै खण्डन गरेका छन्।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्दै संसद् अवरूद्ध पारेको भन्दै व्यक्ति तोकेर भन्दा पनि समस्याग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउने विषयमा सरकार सकारात्मक रहेको बताए। उनले त्यसमा कांग्रेस पनि सहमत हुने आशा व्यक्त गरे।

'हामी भोलि या पर्सि बिहानसम्म कांग्रेससँग सहमति गर्छौँ। नभए सहमति नहुँदैमा संसद्‍मा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस नगर्ने भन्ने हुँदैन। राष्ट्रपतिले सम्बोधन गर्ने कुरालाई कुनै अवरोध कसैले पनि गर्नु हुँदैन,' उनले भने। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:५६
Weather Update