News Griha :: न्यूजगृह
जीबीलाई यसअघिको सरकारले भगाएको हो, भगाएको मान्छेलाई खोज्न समय लाग्छ: गृहमन्त्री लामिछाने
चितवनको भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्दै गृहमन्त्री रवि लामिछाने। तस्बिर: सनद अधिकारी/रासस

चितवन— गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन्। 

चितवनमा शनिबार बिहान पत्रकारसँग गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन्।

जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्न सहित जवाफ दिए, ‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ। तर, यत्रा समस्या आउँदाआउँदै भगाएको चाहिँ किन भन्ने प्रश्न सोध्न सकिन्छ नि!’  

उनले भगाइ सकेको मान्छेलाई खोज्न समय लाग्ने भएको बताए। लगत्तै पत्रकारले कसले भगाएको हो त भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘भाग्दाखेरि सरकारमा को थियो?’ 
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीबी राई मुछिएका छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १०:०६
Weather Update