
काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्।
यसअघि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइए पनि एमालेको कारण रोकिएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओली नै आन्तरिक छलफल गरेर मात्रै विश्वासको मत दिनेबारे निर्णय गर्न निर्देशन दिएका थिए।
अहिले एमालेसँग समेत राम्रो परामर्श भएका कारण मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको सुदूरपश्चिम प्रदेश एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले न्यूजगृहलाई जानकारी दिए।
‘मुख्यमन्त्रीज्यूले आगामी जेठ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। सत्ता साझेदार दलहरुसँग समेत छलफल गरिरहेका कारण विश्वासको मत लिने मुख्यमन्त्रीज्यूले तयारी गर्नुभएको हो,’ उनले भने।
यता मुख्यमन्त्री सोडारीले एमालेका कारण विश्वासको मत लिन नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए। प्रधानमन्त्रीसँगको परामर्शपछि उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
तर सत्तारुढ दल नेकपा एमालेले भने अझै अलमलमा देखिएको छ। यसअघि पनि आन्तरिक छलफल नपुगेको भन्दै विश्वासको मतका लागि तयार नभएको एमाले अझै अन्योलमा देखिएको हो।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि केन्द्रको निर्णयको भरमा सुुदूरपश्चिम एमाले देखिएको छ। मुख्यमन्त्रीले त्यसबारेमा कुनै छलफल नै नगरेको र आफूहरु माथिको निर्णयको पर्खाइमा रहेको सुदूरपश्चिम प्रदेश एमाले प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले न्यूजगृहलाई जानकारी दिए।
‘विश्वासको मतमा हामीले नाइ भन्ने कुरा छैन, तर अहिलेसम्म हामीसँग कुनै किसिमको छलफल भएको छैन,’ उनले भने, ‘हामीलाई माथिबाट कुनै खबर आएको छैन, आएपछि थाहा होला।’
सोडारी उनको दल एकीकृत समाजवादी, नेकपा एमाले, माओवादी केन्द्रलगायतको दलहरुको समर्थनमा मुख्यमन्त्री गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।
यो पनि पढ्नुहोस
सुदूरपश्चिमः एमालेको अडानले धकेलिँदै मुख्यमन्त्रीको विश्वासको मत, बालकोटमा ओलीले के भने?