News Griha :: न्यूजगृह
सहकारी र लघुवित्तमा लगानी गर्ने  वित्तीय निकायहरूलाई ‘रिकभरी’मा समस्या

काठमाडौं— सहकारी र लघुवित्तमा देखिएको आर्थिक समस्याको असर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूमा पनि देखिन थालेको छ । एकातिर बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् भने अर्कोतिर उनीहरूमाथि लगानी गर्ने वित्तीय निकायहरूको ‘रिकभरी’मा समस्या आउन थालेको छ । 

सहकारी संस्थाहरूलाई नै लगानी गर्दै आएको राष्ट्रिय सहकारी बैंकमा सहकारीहरूको खराब कर्जा बढिरहेको छ । ‘सहकारी संस्थाहरूमा बचतकर्ताहरू लाइन लागेर पैसा फिर्ता मागिरहेका छन् । यस्तो अवस्थामा उनीहरूमाथि हामीले गरेको लगानी फिर्ता गर्न सक्ने अवस्थामा सहकारीहरू छैनन्,’ राष्ट्रिय सहकारी बैंकका सूचना अधिकारी राजेश श्रेष्ठले भने, ‘अहिले सहकारीहरूले बचतकर्ताको रकम फिर्ता गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सहकारी बैंकलाई बुझाउनुपर्ने किस्ता र ब्याज उनीहरूको प्राथमिकतामा नहुँदा त्यसको असर हामीलाई परेको छ ।’

राष्ट्रिय सहकारी बैंक अन्तरगत देशभरका करिब १६ हजार सहकारी सदस्य छन् । तीमध्ये तीन हजारभन्दा बढी सहकारीलाई बैंकले कुल ३४ अर्ब रुपैयाँ लगानी गरेको छ । सहकारीको आकार हेरेर प्रति सहकारी २० लाख देखि २५ करोड रुपैयाँसम्म बैंकले लगानी गरेको श्रेष्ठले जानकारी दिए । ‘अधिकांश सहकारीलाई हामीले धितो लिएरै कर्जा दिएका छौँ । तैपनि रिकभरीमा अहिले ठूलो समस्या देखिएको छ,’ उनले भने । 

वित्तीय संस्था, सहकारी र लघुवित्तमार्फत कोषको रकम उपभोग गरेका ऋणीहरूले किस्ता र ब्याजबापतको रकम नियमित बुझाउन नसक्दा समस्या बढ्दै गएको छ । कर्जाबापतको रकम नउठ्ने र एकैसाथ बचत रकम निकाल्न आउनेको भिड बढ्दा सहकारी र लघुवित्तका संचालकहरूको भागाभाग छ । 

भक्तपुर प्रधान कार्यालय रही देशको विभिन्न भागमा रहेको शिवशिखर सहकारीका सम्पूर्ण शाखामा अहिले ताला लागेका छन् । सो सहकारीमार्फत सञ्चालित गार्डेन मार्ट पनि बन्द अवस्थामा छ । बागलुङको इमेज सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । 

सहकारी विभागका अनुसार अहिले देशभरका ५ सय भन्दा बढी सहकारी समस्याग्रस्त छन् । ११ वटा ठूला सहकारी उठ्नै नसक्नेगरी डुबेको विभागले जानकारी दिएको छ । ‘विशेषगरी ठूलो पुँजी भएको र धेरै सेवा केन्द्र भएका सहकारीहरू अहिले समस्यामा परेका छन् र केही सञ्चालक समितिका पदाधिकारीहरूको बदमासीका कारण पनि सहकारीहरूमा समस्या देखिएको छ,’ सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे बताउँछन् । 

बचतकर्ताको रकम फिर्ता गर्न केही सहकारीले समय माग गरेका छन् भने कतिपय समस्याग्रस्त सहकारीका सञ्चालकहरू सम्पर्कविहीन भएका छन् । यो समस्या सहकारी संस्थाहरूमा अझै बढ्ने देखिन्छ । 

बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्तमार्फत बिनाधितो लगानी गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ‘रिफन्ड’मा पनि समस्या देखिन थालेको छ । सहकारी र लघुवित्तमा पछिल्लो समय देखिएको आर्थिक समस्याका कारण कोषमा पनि त्यसको असर देखिएको हो । 

‘प्रत्यक्ष रूपमा अहिले नै हामीलाई त्यस्तो ठूलो समस्या परिसकेको छैन । तर, सहकारी र लघुवित्तहरूमा देखिएको अहिलेको समस्याले गर्दा रिफन्डमा समस्या हुने निश्चित छ,’ युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले भने, ‘अहिलेसम्मको स्थितिमा हामीले लगानी गरेका संस्थाहरू नियमित सम्पर्कमै छन् ।’ 

बैंक वित्तीय संस्था, सहकारी र लघुवित्तमा गरी कोषमार्फत ११ अर्ब ९३ करोड रुपैयाँ लगानी भएको छ । लघुवित्त कम्पनीहरूमार्फत कोषको ७ करोड मात्र लगानी भएको छ । 

कोषले थुप्रै सर्तबन्देज राखेर बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्तहरूलाई लगानी गर्दै आएको छ । ‘सहकारी र लघुवित्तमार्फत भएको लगानी कोषको रकमको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाहरूकै हुन्छ । व्यक्तिपिच्छे कति लगानी भएको र त्यो रकम कसरी असुली गर्ने सवालमा हामीलाई चिन्ता हुँदैन,’ अधिकारीले भने, ‘लगानी फिर्ता गर्न नसकेको खण्डमा हामीले सम्बन्धित संस्थाको सञ्चालक समितिको सम्पत्तिमार्फत पनि असुली गर्न सकिने नियम छ ।’ 

यद्यपि, सहकारी र लघुवित्तहरूमा समस्या देखिँदा ढिलो गरी पैसा असुली भएपनि कानुनी रूपमा झमेला भने हुने अधिकारीले बताए । ‘हाल देखिएको आर्थिक समस्याले सहकारी र लघुवित्तको रकम उठ्ने सवालमा हामीलाई केही समस्या अवश्य पर्नेछ,’ उनले भने । 

कोषले नेपालभरका दुईहजार ६५७ सहकारीमार्फत लगानी गरेको छ । त्यस्तै, ४० वटा बैंक, वित्तीय संस्थामार्फत पनि स्वरोजगार कोषले लगानी गरेको छ । कोषले युवा, विपन्न वर्ग, महिला, दलित, मधेसी, थारु, सिमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्वपीडित लगायतलाई दुई लाखसम्म सहुलियतमा आवधिक ऋण उपलब्ध गराउँदै आएको छ । बैंक, वित्तीय संस्था, सहकारी र लघुवित्तमार्फत ऋण उपलब्ध गराउँदै आएको कोषले संस्थाको प्रोफाइलअनुसार २० लाख देखि एक करोडसम्म सहुलियतमा ऋण दिँदै आएको छ । 

सहकारी र लघुवित्तमा लगानी गर्दै आएका विभिन्न बैंकहरूलाई पनि अहिले ‘रिकभरी’मा समस्या आएको छ । त्यस्तै, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत वित्तीय निकायहरूमा पनि सहकारी र लघुवित्तमा गरेको लगानी रिकभरीमा समस्या देखिएको उनीहरू बताउँछन् । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:४३
समसामयिक
Weather Update