News Griha :: न्यूजगृह
कोशीमा मन्त्रिपरिषद् विस्तार, उप्रेती र मगर विना विभागीय मन्त्री नियुक्त 

काठमाडौं— कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथपछि नेकपा माओवादीका गणेश उप्रेती र नेकपा एमालेका रामबहादुर मगर मन्त्री नियुक्त भएका छन्।

नव नियुक्त दुवै मन्त्रीहरूले विना विभागीय मन्त्रीको शपथ लिएका छन्। संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

एमालेबाट मन्त्री बनेका मगर इलामबाट निर्वाचित सांसद हुन्। माओवादीका उप्रेती मोरङका सांसद हुन्। दुवै जना यसअघि पनि मन्त्री भइसकेका छन्।

एमाले संसदीय दलका उपनेता मगर यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषद्मा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री थिए। चैत २६ मा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:२०
Weather Update