News Griha :: न्यूजगृह
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई एमाले–माओवादीको पत्र

काठमाडौं— कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आग्रह गरेका छन्।

मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै आज एमाले–माओवादी संसदीय दलका नेताहरुले प्रदेश प्रमुखलाई सरकार गठनका लागि आह्वान गर्न माग गर्दै पत्र बुझाएका हुन्। 

Prabhu Bank

बुधबार नै मुख्यमन्त्री कार्कीले पनि आगामी जेठ १२ गते प्रदेश अधिवेशन आह्वान गर्नका लागि भन्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए। आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई पत्र पठाए लगत्तै एमाले–माओवादी गठबन्धनले काउन्टर दिँदै अर्को पत्र बुझाएका हुन्।  

‘...यसरी आफू अल्पमतमा परेको थाहा पाउँदापाउँदै पनि संविधानको धारा १८८(२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि समयावधी भित्र प्रदेश सभाको अधिवेशन आह्वानका लागि कुनै प्रक्रिया अगाडी नबढाएको र राजीनामा पनि नदिएको हुँदा बिक्रम संम्वत २०८१ बैशाख २५ गते राती १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत गुमाई स्वतः पदमुक्त भैसक्नु भएको हुँदा नेपालको संविधान बमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीय ज्यू समक्ष अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ। 

गत असोज २७ गते मुख्यमन्त्री बनेका मुख्यमन्त्री कार्कीलाई समर्थन गरेका एमाले माओवादीले समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका छन्। तर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री बनेको आफू नेतृत्वको सरकारको विकल्प अरु नहुने अडान कायम राख्दै आइरहेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:२९
Weather Update