News Griha :: न्यूजगृह
शपथपछि सुहाङले भने– बुबाले देखाएको इमानको बाटोमा सबैसँग सहकार्य गरेर अघि बढ्छु 

काठमाडौं— नेकपा एमालेका सांसद् सुहाङ नेम्वाङले आफ्ना बुबा स्वर्गीय सुवास नेम्वाङले देखाएको इमानको बाटोमा अडिग भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधबार पद तथा गोपनियताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्ना बुबाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै विकासका लागि अघि बढ्ने बताए। 

Prabhu Bank

‘हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ। बुबाले देखाउनुभएको इमानको बाटोमा निष्ठापूर्वक ती सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्छु,’ उनले भने।  

त्यस्तै नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे। 

‘नेपालमा धेरै विकासका काम भइरहेको छ, नीति निर्माण भइरहेको छ। तर संसद्बाट धेरै ऐन,कानुन, नीति निर्माण भएका छन्,’ उनले भने, ‘तर, ती प्राविधिक कारणले होस् कि सुशासनको कमीले सबै कामहरुले पूर्णता प्राप्त गरेको छैन। कार्यान्वयन भएको छैन।’   

नेम्वाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका थिए। उनले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्। सो अवसरमा सभामुख घिमिरेले नेम्वाङलाई संसदको लोगो समेत लगाइदिएका थिए।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:२४
Weather Update