News Griha :: न्यूजगृह
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना

काठमाडौं— पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ।

गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको हो। विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको छ।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सजाय निर्धारण गरेको हो।

सुनीलमाथि वैशाख ९ गते दायर अर्को मुद्दा पनि विचाराधीन छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा बहाल रहँदाको आयव्ययको तालमेल नदेखिएको ठहरसहित २३ करोड ७५ लाखभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो।

पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाइ गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेको अख्तियारले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:३२
Weather Update