News Griha :: न्यूजगृह
गण्डकीका सभामुखविरुद्ध कांग्रेस आज सर्वोच्च जाँदै 

काठमाडौं— गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धितालविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ। 

आइतबार बसेको प्रदेश सभा बैठकमा सभामुख धितालले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० मतसहित विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्ने भए पनि सभामुख धितालले मुख्यमन्त्री अधिकारीको पक्षमा ३० मत मात्रै देखिए पनि विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए। 

Prabhu Bank

तत्कालै त्यसको प्रतिवाद गरेको कांग्रेस सभामुखविरुद्ध सोमबार (आज) सर्वोच्च रिट दायर गर्न जान लागेको हो।

आवश्यक कानुनी परामर्श गरेर केहीबेरमा सर्वोच्च जान लागेको गण्डकी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले न्यूजगृहलाई जानकारी दिए। 
‘हामी कानुनी परामर्शमा रहेका छौँ, प्रदेश सभाका सभामुखविरुद्ध आजै सर्वोच्च जाने तयारी छ,’ उनले भने। 

नेपाली कांग्रेसले गण्डकीमा सभामुखले बलमिच्याँइ गरेर सरकार टिकाउने खेलमा लागेको कांग्रेसको आरोप रहेको छ।

यसअघि सरकार निर्माणका क्रममा समेत सभामुखको भूमिका रहेको र सभामुख बाहेक मुख्यमन्त्री अधिकारीलाई बहुमत नपुग्ने भन्दै गण्डकी प्रदेश सरकारविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो। 

वैशाख १७ गते सर्वोच्चले ३० मतले बहुमत पुग्ने व्याख्यासहित रिट खारेज गरेसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मतको तयारी गरेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:५०
Weather Update