News Griha :: न्यूजगृह
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक, गरेका थिए प्रेम प्रस्ताव

काठमाडौं— झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर एक किशोरीमाथि गोली प्रहार भयो। घाइते किशोरीलाई ‘रेस्क्यु’ गरेर दमकस्थित लाइफलाइन अस्पताल लगियो।

प्रहरी सोधपुछका क्रममा घाइते किशोरी १८ वर्षीया एनिका अधिकारी रहेको खुल्यो। कक्षा १२ को परीक्षा दिएर फर्किने क्रममा घटना भएको पनि खुल्यो।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन्। उदयपुर घर भएकी उनी दमकमा बसेर अध्ययन गर्दै थिइन्। उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन्।

किशोरीको पेटमा डढेको, दबेको र ददारिएजस्तो चोट छ। यद्यपी उनको शरीरभित्र भने गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी मिलन केसीले जानकारी दिए।

प्रहरीसँगको बयानमा एनिकाले सिरहा घर भएका अमितकुमार यादवले आफूमाथि गोली चलाएको बताएकी छन्। 

यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक/दुई पटक भेट्न आएको भनेकी छन्।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन्। यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:२७
Weather Update