काठमाडौं— पोखराका रोहन नेपालीले आफ्नो ‘डिजिटल वालेट’ मा बैंक खातामार्फत पैसा ‘लोड’ गरे । बैंक खाताबाट पैसा काटियो । तर, वालेटमा पैसा आएन । तीन दिनपछि बल्ल उनको ‘वालेट’ मा पैसा देखियो । आकस्मिक तिर्नैपर्ने रकम ‘होल्ड’ भएपछि उनले तिर्नुपर्ने बिल तिर्न पाएनन् । धन्न गोजीमा पैसा भएको बेला पर्यो र उनले नगद तिरेर बिल चुक्ता गरे ।
इलेक्ट्रिक सामान बिक्रीवितरण गर्दै आएका व्यवसायी दीपक पौडेललाई पनि डिजिटल वालेटले दिनुसम्म समस्या दियो । ईसेवा चलाउँदै आएका पौडेलको ईसेवा खातामा पैसा आउने तर, आफूले त्यो पैसा चलाउन नपाउने समस्या आयो । ‘सुरुमा केवाईसीमा समस्या आयो भनेर केवाईसी अपडेट गरेँ । तर, फेरि उस्तै । इसेवाको कार्यालयमा कतिचोटि फोन गरेँ तर, त्यहाँ फोनै नउठ्ने समस्या,’ उनले थपे, ‘मेरो अकाउन्ट बनाउन करिब ७ महिना लाग्यो ।’ डिजिटल वालेटमा भएको ब्यालेन्स प्रयोग गर्न नपाउँदा उनको थुप्रै ‘पेमेन्ट सेड्यूल’ बिथोलियो ।
हरेक दिनजसो कोही न कोहीले यस्तै समस्या भोगिरहेका छन् । पसलमा सामान किन्दा, रेस्टुरेन्टमा खाएको बिल तिर्दा होस् या पेट्रोल हाल्दा डिजिटल वालेट प्रयोगकर्ताहरूले यस्ता थुप्रै समस्या भोग्नुपर्ने बाध्यता छ । समस्या धेरै देखिएपछि पसल, रेस्टुरेन्टहरूले सकेसम्म नगदमै कारोबार गर्न खोज्छन् । ग्राहकलाई पनि पसल वा रेस्टुरेन्टको खातामा पैसा चढे नचढेको यकिन नभइ हिँड्न छुट छैन । सजिलोका लागि भन्दै जारी भएका यस्ता वालेटहरूले सुविधालाई चुस्त नबनाउँदा प्रयोगकर्तालाई झन् झन्झट हुँदै आएको छ ।
कुनैबेला पेट्रोलको बिल तिर्न भन्दै आक्रामक प्रचार गरेको ‘आइएमई पे’को ‘क्यूआर’ अहिले प्राय पेट्रोल पम्पहरूले हटाएका छन् । ग्राहकको पैसा काट्ने तर, आफ्नो खातामा पैसा नचढ्ने समस्या अत्यधिक देखिएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पले अहिले नगदमा मात्र ईन्धन बेच्न थालेका छन् । केही पेट्रोल पम्पमा मात्र ग्राहकले ‘डिजिटल पेमेन्ट’को सुविधा पाउँछन् ।
पछिल्लो समय डिजिटल वालेटको प्रयोग गर्नेको संख्या बढिरहेको छ । प्रयोगकर्ताहरू जति बढेका छन्, डिजिटल वालेटमा त्यति नै धेरै समस्या देखिन थालेको छ । डिजिटल कारोबार गर्न वालेट कम्पनी सँगै बैंक तथा वित्तीय संस्थाहरूले अहिले जताततै ‘क्यूआर सिस्टम’ जडान गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा हाल १ करोड ६७ लाख ५१ हजार ७१३ जनाले डिजिटल वालेट प्रयोग गर्छन् । गत फागुन अन्तिमसम्मको यो तथ्याङ्कलाई अघिल्लो वर्षसँग दाँज्ने हो भने यो एक वर्षमा डिजिटल वालेट चलाउने प्रयोगकर्ता करिब ५४ लाखले बढेको छ । यो आर्थिक वर्षमा मात्रै डिजिटल वालेटमार्फत १८ अर्ब र समग्र क्यूआर सिस्टमबाट करिब २१ अर्ब कारोबार भएको राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाउँछ ।
के भन्छन् वालेट कम्पनीहरू ?
डिजिटल वालेट प्लेटफर्मका लागि नेपाल राष्ट्र बैंकबाट २७ वटा कम्पनीले लाइसेन्स प्राप्त गरेका छन् । ईसेवा, खल्ती, आइएमई पे, प्रभु पे, सीजी पे, सेल पेलगायत वालेट कम्पनीहरू प्रयोगकर्तामाझ चर्चित छन् । त्यस्तै १० अपरेटर कम्पनीले राष्ट्र बैंकबाट लाइसेन्स पाएका छन् ।
वालेट कम्पनीहरूले भने डिजिटल पेमेन्ट गर्दा होल्ड हुने समस्या धेरै कारणले आउने बताउँछन् । ‘कतिपय अवस्थामा हाम्रो आन्तरिक कारणले पनि यस्तो समस्या आएको हुन सक्छ । तर, आन्तरिक रूपमा आएको समस्यामा हामीले तत्काल त्यसलाई समाधान गर्न सक्छौँ,’ डिजिटल वालेट कम्पनी ‘खल्ती’का सोसल मिडिया मार्केटिङ अफिसर आकृति शर्माले भनिन्, ‘त्यसका लागि हाम्रो टिम निरन्तर १९ घण्टासम्म खट्दै आएको छ ।’ सपोर्ट टिमबाट तत्काल समास्या समाधान गर्ने प्रयास भएपनि अन्य कनेक्टेड बैंक र प्रोभाइडरका कारणले आउने समस्यामा भने केही समय लाग्ने उनले बताइन् ।
नेपाली बजारमा सबैभन्दा धेरै प्रयोगकर्ता संख्या भएको कम्पनी ईसेवा हो । धेरै प्रयोगकर्ता भएकै कारणले ईसेवामा यस्ता समस्या धेरै आउने गरेको छ । डिजिटल वालेट कम्पनी ईसेवाले प्रयोगकर्ताको सहजताको लागि आफूहरूले ‘क्विक रेस्पोन्स टिम’ राखेर काम गरिरहेको जनाएको छ ।
कम्पनीहरूका अनुसार अधिकांश प्रयोगकर्तामा यस्तो समस्या ‘केवाईसी भेरिफिकेशन’ नहुँदा आउने गरेको छ । राष्ट्र बैंकको नियमअनुसार पाँच हजार भन्दा माथिको भुक्तानी गर्न प्रयोगकर्ताले आफ्नो वालेटलाई ‘केवाईसी भेरिफाइड’ बनाउनुपर्छ । त्यस्तै फोन पे जस्ता ‘सर्भिस प्रोभाइडर’ कम्पनीहरूको ‘सिस्टम’ नचल्दा पनि यस्तो खाले समस्या आउँछ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाका ‘सर्भर डाउन’ हुँदा पनि यस्तो समस्या देखिँदै आएको छ ।
होल्ड भएको पैसा वालेट कम्पनीले प्रयोग गर्छन् ?
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागकी निर्देशक निभा श्रेष्ठका अनुसार डिजिटल वालेट कम्पनीहरूले यसरी पैसा होल्ड गर्न पाउँदैनन् । प्राविधिक कारणले प्रयोगकर्ताको रकम होल्ड भएपनि त्यो रकमलाई उनीहरूले कुनै प्रयोजनमा लगाउन पाउँदैनन् ।
‘यसरी पैसा होल्ड गर्दा वालेट कम्पनीहरूलाई कुनै पनि लाभ हुँदैन,’ श्रेष्ठ भन्छिन्, ‘उनीहरूकोमा पैसा होल्ड हुँदा न त त्यसलाई प्रयोग गर्न मिल्छ । न त्यसबापत उनीहरूलाई ब्याज आउँछ । प्रयोगकर्ताले भुक्तानी गर्ने रकम रियल टाइममा भइसक्नुपर्ने राष्ट्र बैंकको नियम छ ।’
यद्यपि, विभिन्न प्राविधिक कारणले आउने यस्तो खाले समस्या बढ्दै गएका कारण पछिल्लो समय राष्ट्र बैंकले होल्ड भएको कारोबारको ‘फोर्स सेटलमेन्ट’ गर्न वालेट कम्पनीहरूलाई सर्कुलर गरिसकेको उनले जानकारी दिइन् ।
सामान्य डिजिटल वालेट प्रयोगकर्ताहरूले आफ्नो खातामा ५० हजारभन्दा बढी रकम राख्न पाउँदैनन् । त्यस्तै, एक दिनमा एकजना प्रयोगकर्ताले १० पटकभन्दा बढी कारोबार वालेटमार्फत गर्न नपाउने नियम छ । सुरक्षाको लागि राष्ट्र बैंकले ल्याएको यस्ता नियमहरूको बारेमा जानकारी नहुँदा पनि प्रयोगकर्ताले वालेट कम्पनीलाई गुनासो गर्दै आएका छन् । प्रयोगकर्ताले तोकिएको नियमभन्दा बढी रकम धेरैपटक भुक्तानी गर्न खोज्दा पनि यस्तो समस्या आउने गरेको राष्ट्र बैंकको बुझाइ छ ।
श्रेष्ठले कतिपय अवस्थामा प्रयोगकर्तामा प्राविधिक ज्ञान नहुँदा पनि यस्तो समस्या आउने गरेको बताइन् । प्रयोगकर्तामा डिजिटल पेमेन्टको ज्ञानको दायरा बढाउनका लागि नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्सियल लिटरेसी’ सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिइन् ।
प्रयोगकर्ताले पाउँदैनन् आफूखुसी खाता बन्द गर्न
नेपालमा अनलाइनमार्फत सजिलै ‘डिजिटल वालेट अकाउन्ट’ खोल्न पाएपनि प्रयोगकर्ताले आफूखुसी खाता निष्क्रिय गर्न भने पाउँदैनन् । मोबाइलमा वालेटको एप हटाउन पाइने भएपनि पूर्ण रूपमा खाता निष्क्रिय गर्न भने वालेट कम्पनीमै निवेदन दिनुपर्ने बाध्यता छ ।
राष्ट्र बैंकले ‘सेक्युरिटी’लाई यसको कारण देखाएको छ । यद्यपि, यो विषयमा राष्ट्र बैंकको नियमले पनि स्पष्ट रूपमा केही भन्दैन । तर, प्रयोगकर्ताले भने एपमार्फत आउने अनावश्यक म्यासेज, विज्ञापन र जानकारीले हैरानी हुँदा पनि वालेट निष्क्रिय गर्न नपाइएको गुनासो गर्छन् ।