काठमाडौं— मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ।
बजार परिसूचक २५.९३ अंकले बढ्दै २००६.२८ बिन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो दिनका तुलनामा कारोबार रकम बढेको हो। १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ४ अर्ब ८० करोड रुपैयाँ भएको छ।
सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को बिन्दुमा रहँदा ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएर रकम २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ थियो।
साताका पहिलो र दोस्रो दिन अस्वाभाविक रुपमा बढेको फाइनान्स उपसूचक मंगलबार भने १.१८ प्रतिशतले घटेको छ। गत आइतबार ३.९८ प्रतिशतले बढेको फाइनान्स उपसमूह सोमबार एक्लै ४.१७ प्रतिशतले बढेको थियो।
आज १३ मध्ये फाइनान्सबाहेकका सबै उपसमूहको शेयर मूल्य बढ्दा परिसूचकसँगै कारोबार रकम बढेको हो।
विकास बैंक उपसमूह सर्वाधिक ४.९० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन २.५३, निर्जीवन बीमा २.३९, जलविद्युत १.६२ र लघुवित्त १.४१ प्रतिशतले बढेका छन् । २१५ कम्पनीको शेयर मूल्य बढ्दा लगानीकर्ता फाइदामा छन्। २६ कम्पनीको घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा दुई दिन लगातार पहिलो बनेको पोखरा फाइनान्स मंगलबार शेयरमूल्य घटे पनि धेरै कारोबार हुनेमा दोस्रो नम्बरमा परेको छ। पोखरा फाइनान्सको १७ करोडको शेयर किनबेच भएको छ । पहिलो नम्बरमा शाइन रेसुंगा विकास बैंक छ। उक्त बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यस्तै गोर्खाज फाइनान्सको १६ करोड २५ लाख, कामना सेवा विकास बैंकको १२ करोड ९५ लाख र नेपाल फाइनान्सको शेयर १२ करोड ६० लाखको किचबेच भएको छ।
शेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट विकास बैंक परेको छ । इन्फिनिटी लघुवित्तको शेयर पनि सर्किटस्तरमा बढेको छ। ग्रीन डेभलपमेन्ट बैंक, बोटलर्स तराई, शाइन रेसुंगा बैंकको पनि शेयरमूल्य बढेको छ।
शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पोखरा फाइनान्स, गराँस लघुवित्त, बोटलर्स बालाजु, गोर्खाज फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन्।