News Griha :: न्यूजगृह
लजास्पद हारपछि रास्वपाले भन्यो– हाम्रो विपक्षमा घण्टी बज्यो, गहन समीक्षा गर्छौँ 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनबारे पार्टीको आगामी बैठकमा समीक्षा गर्ने बताएको छ। 

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले जमानत समेत जोगाउन नसकेपछि रास्वपाले विज्ञप्ति जारी गर्दै कमीकमजोरीका कारण निर्वाचनमा पराजय भोगेको र त्यसको समीक्षा गर्ने बताएको हो।
 
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ। निर्वाचन परिणामले हाम्रा प्रयासहरुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ।’ 

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा विजयी भएका एमालेका सुहाङ नेम्वाङलाई बधाइ मतदातालाई धन्यवाद दिएको छ। 

मंगलबार बिहान आएको अन्तिम परिणाम अनुसार इलाम क्षेत्र नं २ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा जमानत समेत जफत भएको छ।  

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:०६
Weather Update