News Griha :: न्यूजगृह
बझाङमा पराजयपछि अभिषेक भन्छन्– भगवान पीडा र दुःखजति मेरै भागमा रहेछ

काठमाडौं— बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा पराजयपछि कांग्रेसबाट उम्मेदवार बनेका अभिषेकबहादुर सिंहले विजेताप्रति कुनै आक्रोश व्यक्त नगर्न समर्थकहरुलाई आग्रह गरेका छन्। 

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत निर्वाचित एमालेका दमनबहादुर भण्डारीलाई बधाई दिँदै समर्थकहरुलाई उत्तेजित भएर कसैप्रति गाली गलौजमा नलाग्न आग्रह गरेका हुन्।  

त्यस्तै निर्वाचित गर्ने बझाङका जनताको सेवामा इमान्दारितापूर्वक लाग्न भण्डारीलाई आग्रह समेत गरेका छन्।  

‘भगवान पनि कति निष्ठुरी सधैँ पीडा र दुःख जति मेरै जिन्दगीमा रहेछ। कसैप्रति केही गुनासो छैन र केही भन्नु छैन। विनम्र अनुरोध गर्दछु मलाई समर्थन गर्नेहरुले कसैप्रति उत्तेजित एवं आक्रोशित भएर अभद्र व्यवहार वा सामाजिक संजालमा कसैको आलोचना नरिदिनु होला। हार्दिक बधाई एवं कार्यकालको शुभकामना दिन चाहन्छु आदरणीय नेता दमन भन्डारीज्यु। बझाङका जनता तपाईंलाई आफ्नो अमुल्य मत दिएर जिताएका छन्, तपाईं कटिबद्ध भएर इमानदारीपूर्वक कुनै पार्टी या व्यक्ति नभनेर सबैलाई मिलाएर जानु हुने छ भन्ने मैले आशा राखेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

आफ्नै केही कमीकमजोरी रहेका कारण निर्वाचनमा पराजित भएको र आगामी दिनमा त्यसलाई सुधार गरेर अघि बढ्ने समेत बताएका छन्। साथै आफू पराजित भए पनि जनताको साथमा सधैँ रहने भन्दै मत हाल्ने मतदाता र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन्। 

‘मेरै केही कमि कमजोरी थियो होला सायद तपाईंहरुको मनलाई जित्न सकिन आगामी दिन देखि हजुरहरुको मन जित्ने प्रयास गर्ने छु। अन्तमा जस्तोसुकै परिस्थितिमा पनि तपाईंहरुको साथमा सदैव हुनेछु र सम्पूर्ण मतदाता एवं शुभचिन्तकहरु प्रति हार्दिक धन्यवाद एवं नमन व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

शनिबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी २६६ मतको अन्तरले विजयी भएका छन्। 

सोमबार दिउँसो आएको अन्तिम परिणाम अनुसार भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ११:०५
Prabhu BankPrabhu Bank
Weather Update