News Griha :: न्यूजगृह
बझाङ १(१) मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ—  बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरे। 

भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन्। निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।

गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:५३
Weather Update