News Griha :: न्यूजगृह
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकः ६ समूहमा छलफल सुरु

काठमाडौं— नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज ६ वटा समूहमा छलफल सुरु भएको छ।

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो। 

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरु भएको छ।

पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार/सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको जनाए। 

उक्त भित्तोमा लिखित सुझाव टाँस्न सकिने र नेतृत्वले त्यसलाई अध्ययन गरी प्रतिवेदनमा आवश्यकताका आधारमा समावेश गर्नेछ। 

‘विभिन्न समूह र लोकतान्त्रिक भित्तो गरी दुवै माध्यममा आमरुपमा लोकतान्त्रिक विधिबाट प्रतिवेदनहरुमाथि उत्साहजनकरुपमा छलफल भइरहेको छ’, नेता गौतमले भने। 

बैठकमा २ हजार ४ सय ५४ प्रतिनिधि सहभागी छन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:४७
Weather Update