News Griha :: न्यूजगृह
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भीम रावललाई ‘नो इन्ट्री’ 
फाइल तस्बिर।

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ।

शनिबारबाट ललितपुरको गोदावरीमा जारी बैठकमा एमाले नेता भीम रावल भने सहभागि छैनन्। 

पार्टीको राजनीतिक, सांगठनिक लगायत महत्वपूर्ण प्रतिवेदनमाथि छलफल हुने महत्वपूर्ण बैठकमा नेता रावल भने उपस्थित हुन पाएनन्। 

Prabhu Bank

आफूलाई पार्टीबाट कुनै जानकारी नआएका कारण बैठकमा उपस्थित नभएको नेता रावलले न्यूजगृहलाई जानकारी दिए।  मोबाइलमा अन्य व्यक्तिहरुलाई पठाइएको जस्तै म्यासेज पठाइएको तर आफूले त्यहाँ बुझ्दा परिचय पत्र र बस्ने स्थान लगायत केही पनि नराखेका कारण आफू नगएको बताए। 

‘मोबाइलमा अन्य व्यक्तिहरुलाई सिरियल्ली पठाउने जस्तो जानकारीमूलक सन्देश आएको थियो, तर साथीहरुलाई बुझ्न लगाउँदा मेरो परिचयपत्र बनाउनेदेखि बस्ने ठाउँसम्मका लागि पार्टीले कुनै प्रबन्ध गरेको रहेनछ,’ नेता रावलले न्यूजगृहसँग भने, ‘मलाई अपमानबोध भयो त्यही भएर म गइन्।’

त्यसो त अहिले मात्र होइन यसअघिका विभिन्न अन्य कार्यक्रमहरुमा पनि नेता रावललाई जानकारी एमालेले गराउने गरेको थिएन।

आफूले पार्टीको १०औँ महाधिवेशनमा अध्यक्षमा उठेका कारण प्रतिशोधका आधारमा पार्टीका हरेक गतिविधिमा निषेध गरिएको रावलले बताए। 

‘पार्टीको १०औँ महाधिवेशनमा मैले अध्यक्ष ओलीको विरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका कारण नै मलाई अहिले प्रतिशोधपूर्ण भावनाले निषेध गरियो,’ उनले भने, ‘यसअघि पनि मलाई निषेध गरिँदै आएको निरन्तरताको रुपमा यसलार्ई लिएको छु।’ 

शनिबारदेखि लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ। परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ।

२ हजार ४ सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण  र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने बताइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:४६
Weather Update