
काठमाडौं— सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य जनसंख्या मन्त्रालयको नाममा निशुल्क स्वास्थ्य बीमा भन्दै सार्वजनिक भएका विज्ञापनबारे मन्त्रालयले अनुसन्धान थालेको छ।
केही दिनदेखि फेसबुक लगायत सामाजिक सञ्जालमा विभिन्न उमेर समूहका व्यक्तिहरुको निशुल्क बीमा भनि भ्रामक विज्ञापन तथा सूचनाहरु प्रशारण भइरहेका थिए। सो सम्बन्धमा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न आग्रह समेत गरेको छ।
साथै त्यस्ता किमिसका गलत र भ्रामक सूचना/विज्ञापन प्रशारण गर्नेहरुलाई विद्यमान कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
‘यस्ता गलत तथा भ्रामक सूचना÷विज्ञापन प्रशारण गर्नेहरुलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत् नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाइसकिएको जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।