
काठमाडौं— पूर्वउपराष्ट्रपति परमानन्द झाले सरकारमा रहेका नेताहरूले बेइमान काम गरिरहेको आरोप लगाएका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारी ढुकुटी दुरुपयोग गर्ने प्रवृत्ति सुरुदेखि नै रहेका नेताहरूले अब जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर सहकारी ठगी जस्ता बेइमानी काम गरिरहेको बताए।
उनले भने, ‘सहकारीको रकम कुनै विदेशबाट आएको दान होइन। कुनै भ्रष्टाचार गरेर कमाएको ती जनता होइन। आफ्नो कमाइ जम्मा गरेको सहकारीमा सरकारबाट के भएको छ भन्ने मैले भनिरहन पर्दैन। ओरिएन्टल सहकारीमा अरबौं घोटाला भयो। तर सरकारले केही निराकरण गर्न सकेन। खाने प्रवृत्ति सरकारबाट जुन पैसा पाउँछ। सरकारको सरकारी ढुकुटीलाई दुरुपयोग गर्ने प्रवृत्ति त छँदैछ। अब नेताहरूले हुँदा हुँदा जनताले जम्मा गरेको रकममाथि आँखा लगाएर यो सरकार पनि बेइमानी गरिरहेको छ । सरकारमा बस्ने व्यक्तिहरू पनि बेइमान छन्। अब सोच्ने बेला भएको छ।’
पूर्वउपराष्ट्रपति झाले पहिला जतिखेर पनि देशको विकास होस भन्ने इच्छा राख्ने आफू अहिले दलको र नेताको मात्र विकास कुरा मात्र मनमा आउने बताए।
दल र नेताहरूको विकास भयो भने मात्रै देशको विकास पछि हुँदो रहेछ भन्ने अनुभूति भएको उनको गुनासो छ।
उनले भने, ‘पहिला जतिखेर पनि देशको विकास होस् भन्ने लाग्थ्यो पनि, राखिन्थ्यो। अब दलको र नेताको मात्र विकास कुरा मनमा आउँछ। उनीहरूको विकास होस्। अहिलेको अवस्थामा दल र नेताहरूको विकास भयो भने मात्रै देशको विकास पछि हुँदो रहेछ भन्ने मलाई लाग्छ।’