News Griha :: न्यूजगृह
छैन विगतप्रति गुनासो, अब परमात्मालाई सोच्ने

नेपालमा गणतान्त्रिक व्यवस्थाको प्रारम्भिक अभ्यासका क्रममा ‘परमानन्द झा’ नाम चर्चित थियो। गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपतिका रुपमा शपथ लिँदा हिन्दी भाषा छनोट गर्दा उनको विरोध पनि भयो। वर्तमान राजनीतिक परिवेशमा उनको नाम विरलै उच्चाहरण हुन्छ। 

सप्तरी मौवाहाको किसान परिवारमा जन्मिएका झाले पढाइ र जागिरको शिलशिलामा गाउँ छाडे। पढ्नकै लागि काठमाडौं आएका उनी न्यायाधीश भएर काम गरे। राजनीतिक परिवर्तनसँगै देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि तत्कालीन मधेसी जनाधिकार फोरमले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनायो। फोरमको यही प्रस्तावले झा देशको पहिलो उपराष्ट्रपति बने।

उपराष्ट्रपति रहँदा देशका लागि काम गर्छु भन्दै सरकारलाई खबरदारी गरेपछि चर्चामा आएका झा शपथकै विषयले विवादमा तानिएका थिए। उनले हिन्दीमा शपथ लिएपछि विभिन्न टिप्पणी भयो। तर झाले हिन्दीमा लिएको शपथलाई आफूले नागरिकमा भाषिक अधिकार स्थापनाका लागि गरेको पहलका रुपमा लिएका छन्। 

Prabhu Bank

विकासका काममा अग्रसर बन्न गाउँलेको सुझाव
सप्तरी जन्मघर अनि आफ्नो पौरखले बनाएको घर काठमाडौंमा। अहिलेको दैनिकी काठमाडौंमै बिते पनि झालाई गाउँ सुप्तरी गइरहन मन लाग्छ। चढ्दो उमेर थला पार्दै गएपछि गाउँ जाने क्रम भने पातलिएको छ।

गाउँघर जाने योजना सुनाउँदै उनले भने, ‘अब २/४ दिनमा फेरि गाउँ जान्छु। गाउँमा दाजुभाइ, छरछिमेकीले घरमा हुने काममा बोलाउँछन्। म जान्छु। अहिले पनि व्रतवन्धमा जानुछ। गाउँ जान मन लाग्छ। तर कहिले आफ्नो शरीरले साथ दिँदैन। कहिले श्रीमतीको स्वास्थ्यले। एक्लै हिँड्न पनि हुँदैन। अहिले त बुढाबुढी सँगै भइएन भने त जीवन अफ्ठ्यारो नै भइहाल्छ। गाउँ जाँदा अलि रमाइलो हुन्छ। पहिले त एक वर्षमा २/३ पटक जान्थेँ। यो पटक चाहि दुई वर्षै हुन थाल्यो नगको। अब गएर दुई हप्ताजति बसेर आउँछु।’ 

गाउँघर पुग्दा झालाई हाल खबर सोध्न सबै गाउँले भेला हुँदा रहेछन्। धेरै समय काठमाडौं बस्ने भएकाले झा गाउँ जाँदा उनलाई मन पर्ने सागसब्जीसहितका खानेकुरा लिएर हाल खबर सोध्न स्थानीयहरू भेला हुन्छन्। यसरी आफ्नो वरीपरी गाउँले भेला हुँदा रमाइलो लाग्छ उनलाई।

गाउँले भेला भएर आफ्नो अगाडि आउँदा दु:ख पनि लाग्दो रहेछ। अहिले झाको उमेरका धेरै गाउँमा छैनन्। भन्छन्,‘गाउँमा पुग्दा रमाइलो त हुन्छ, तर नरमाइलो पनि लाग्छ। मेरो बाल्यकाल तथा उमेरका धेरैजसो साथीहरूलाई अहिले भेट्न सकिँदैन। उनीहरू परलोक भइसके। अनि कसको छोरा/छोरी ? कसको नाती/नातिना भनेर सोध्नुपर्छ। पाको उमेरले अघिल्लोपटक सोधेको बिर्सिन्छ पनि। पटक पटक सोध्यो भने झ्याउ पनि लाग्छ नि होइन?’

विवाह, व्रतबन्धमा सहभागी भएकाहरूले गाउँमा बनेको नयाँ बाटो, बिजुली देखाउँदै यो तपाईंलाई भनेपछि बनेको भन्दै तारिफ गर्दा झालाई खुसी लाग्छ। अहिले पनि विद्यालयको समस्या, स्वास्थ्य संस्थाको समस्या, खानेपानीको समस्या, बाटो, बत्तीको समस्या सुनाउँछन् गाउँलेले। समस्या सुनेर समाधान गर्न नसक्ने अवस्थामा रहेकाले भने झालाई दु:ख दिन्छ। 

गाउँमा हुने सम्वाद सम्झँदै झा भन्छन्, ‘मलाई गुनासो गर्छन् गाउँलेहरू। यसो गर्न पाए हुने, यस्तो बनाउन पाए हुने भनेर। तर भनेर के गर्नु केही गर्न सकिँदैन। फेरि म राजनीतिक व्यक्ति पनि परिन आश्वासन बाँड्दै हिँड्ने। पहिले उपराष्ट्रपति हुँदा भने ठाउँठाउँमा भन्ने गरेको थिएँ। गाउँमा विकासका लागि सरकारका सम्बन्धित ठाउँमा भन्थेँ। हुन्छ, हामीले सूचीमा राखेका छौँ। गर्छौं भन्थे के गरे थाहा छैन। तर गाउँमा काम भने भएको छ। पहिलेको गाउँ र अहिलेको गाउँमा त धेरै फरक आएको छ।’

कार्यकालको उपलब्धि भाषिक अधिकार
आफू देशको उपराष्ट्रपति भए पनि राज्यसँग आफ्नै धेरै अपेक्षा थिएन् झालाई। उपराष्ट्रपति भएपछि केही न केही देशका लागि गरौँ भन्ने हुटहुटी भने भइरहन्थ्यो उनलाई। त्यही हुटहुटीले पनि झालाई उपराष्ट्रपति हुँदा विभिन्न टिप्पणी भए। 

नेताहरूको व्यवहार, आचरण तथा क्रियाकलापै कारण गणतन्त्रमाथि प्रहारका घटना सुन्दा नमज्जा लाग्छ उनलाई। भन्छन्, ‘नेपालका लागि गणतन्त्र सुहाएन भन्ने सुन्छु। लामो संघर्षपछिको उपलब्धि मानिएको विषय नेताहरूकै कारण कमजोर हुँदैछ। नेताहरूको व्यवहार, आचरण तथा क्रियाकलापकै कारण गणतन्त्रमाथि प्रहारका घटना हुन थालेका छन्। अब नेताहरूले सच्चिएर गणतन्त्रको सुन्दरतालाई जनतासम्म पुर्‍याउन सकेनन् भने गाह्रो हुन्छ। सँगै हिन्दु राष्ट्रका विषयमा पनि बेग्ला बेग्लै कुरा हुन्छ। संविधान जारी हुने विषयमा पनि धर्म निरपेक्षताको विषय थाहै थिएन्। कसरी आयो किन आयो कसैलाई थाहै छैन। जे भए पनि अहिले यो व्यवस्था कायम भयो। यही व्यवस्थालाई मजबुद बनाउन दलहरू लाग्नुपर्ने हो। लागेका छैनन्।’

आफू उपराष्ट्रपति हुँदा दुई कुरा गर्ने भन्ने दृढ अठोट रहेछ झाको। भन्छन्, ‘म कार्यकालमा रहँदा दुई कुरा धेरै सोच्थेँ। पहिलो मुलुकले संविधान पाओस्। अनि दोस्रो त्यो संविधानबाट नेपाली नागरिकले पाउनुपर्ने भाषिक अधिकार पाउन भन्ने थियो। मेरो खबरदारी, ममाथि भएको विरोधकै बीचको प्रयासले नागरिकले भाषिक अधिकार पाए। मैले यसलाई मेरो उपलब्धि मानेको छु।’

हिन्दीमा शपथ लिएको विषयमा भएको विवादले आफूले नागरिकमा भाषिक अधिकार चाहिन्छ भन्ने आफूभित्रको सुशुष्त विचारलाई स्थापित गर्न सजिलो भएको उनले बताए। त्यही विचारलाई आफूले आफ्नो कार्यकालमा खबरदारीसहित संविधानमा भाषिक अधिकारको व्यवस्था गर्न सफल भएको उनले बताए।

उनले भने, ‘मैले जे गरेँ, ठिक गरेँ। अहिले त १२३ भाषामा जोसुकैले शपथ लिन सक्छन्। यसको सुरुवात मैले नै गरेको हुँ। संविधानको सातौँ संशोधन गरेर जसले पनि आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरियो। त्यसपछि प्रचलन नै सुरु भयो। म त्यस घटनाप्रति व्यक्तिगत हिसाबले गर्व गर्छु।’

उत्कृष्ठ संविधान बनायौँ भनेर नेताहरूले गर्ने तर्क पनि धेरै मन नपर्दो रहेछ उनलाई। संविधानको प्रभावकारी कार्यान्वयन गर्न नसकेपछि राम्रो छ भनेर भन्नुको अर्थ नहुने उनको बुझाइ छ। जनताले संविधानमा भएका व्यवस्थाको अनुभूत गर्न सकेमात्र हो भन्न सकिने बताउँदै भन्छन्, ‘खाना पकाउनेले मैले मिठो पकाएँ भनेर मात्र हुन्छ? खाने मान्छेले चाखेपछि मात्र पो नुन लागेको हो कि नलागेको, मसला राम्ररी लागेको कि कम बढी भएको? मज्जाले पाकेको छ कि छैन थाहा हुन्छ। यहाँ संविधानका विषयमा पनि खाना पकाउनेले मिठो पकाएँ भनेर गरेको दाबी जस्तो मात्रै हो।’

संघीयताले देशलाई फाइदा गर्दैन भन्छन झा। ‘म पनि संघीयताको पक्षमा छैन। पहिले २२ जिल्लाको मधेस थियो। अहिले ८ जिल्लामा सीमित भयो। पर्साभन्दा पश्चिमका मधेसका मान्छेले आफूलाई मधेसी भन्न नै नपाउने अवस्था आयो। उनीहरू अर्कै प्रदेशका भए। मधेसका विषयमा बोल्छु गर्छु भन्ने देशको राजनीतिमा हालिमुहाली भएका २/४ जना नेताले बुद्धि नपुर्‍याउँदा मधेसका जनताले आफ्नै अंगलाई काटेको अनुभूत गर्नुपर्‍यो,’ उनले भने। 

मधेसकै जनताको आवाज उठाउने भन्दै एक दलले गरेको सिफारिसमा उपराष्ट्रपति बनेका झालाई अहिले दल चिनाउनै गाह्रो पर्छ। भन्छन्, ‘मलाई उपराष्ट्रपति बनाउने दल नै अहिले छैन। म कुन दलबाट हो भनेर मान्छेलाई चिनाउन गाह्रो पर्छ। दलभन्दा पनि व्यक्तिमा सीमित भइयो। नेपालमा राजनीतिक दलले भोट गन्ने बाहेक केही नगरेको जस्तो लाग्छ। आफैँलाई उपराष्ट्रपति बनाएको दल नै हरायो। उनीहरूले पनि मलाई खोज्दैनन्। म पनि खोज्दै जान्न। खोज्दै जाने मेरो स्वभाव पनि छैन।’  

उपराष्ट्रपति पदमा हुँदा कुनै सम्झन योग्य कामै नभएकाले यो संस्था देशका लागि काम लाग्ने जस्तो लाग्दैन उनलाई। भन्छन्, ‘काम केही गर्नुपर्ने नभएपछि यो संस्था नै काम छैन भन्ने मेरो भनाइ थियो। राष्ट्रपति विदेश जाँदा मेरो अनुपस्थितिमा काम गर भनेर राष्ट्रपतिले लेखेर दिनुहुन्छ, तर काम हुँदैन। क्याबिनेटलगायत अरू निकायले राष्ट्रपतिले गर्नुपर्ने काम छ भने राष्ट्रपति नभएको वेलामा अगाडि नै बढाउँदैनन्। विभिन्न निकायहरूले पनि अहिले राष्ट्रपतिज्यू हुनुहुन्न भन्छन्, चुप लाग्छन्। राष्ट्रपति कार्यबाहक छ भन्ने कुरा कसैले पनि सोच्दै सोच्दैन। अहिले उपराष्ट्रपतिलाई सोध्दा पनि हुन्छ, राष्ट्रपतिज्यू बाहिर जाँदा केही काम पाउनुभयो कि भएन भनेर। अहँ केही हुँदैन । अनि दिउँसोभरि के गरेर बस्ने ? एक दिन होइन, दुई दिन होइन।’

२४ घण्टा मेरा लागि कम
उमेर पाको भएपछि समय बिताउन निक्कै कठिन हुने अनुभव धेरैले साझा गर्छन्। तर पूर्वउपराष्ट्रपति झाको दैनिकी भने फरक छ। झालाई दिन रात छिटो बितेको जस्तो लाग्छ। यो समय छिटो चलेको र आफूलाई समय नपुगेको जस्तो लाग्छ उनलाई। 

बिहानै सबैरै उठ्ने झा नियमित कार्य सकेर योग तथा ध्यानमा जुट्ने गर्छन्। बाहिरी हिँड्डुलमा खासै रुचि नराख्ने उनी घरमै दिन बिताउँछन्। दिन बिताउँदाका धेरै साथी भनेको रेडियो र टेलिभिजन हो। 

सक्रिय जीवन बिताएको तपाईं अहिले अलि कठिन होला। घरमा दिन बिताउन गाह्रो होला भन्ने जिज्ञासामा झाले भने, ‘त्यसो होइन। मलाई त यो समय थोरै जस्तो लाग्छ। एक दिनको २४ घण्टा नै मेरो लागि कम भएको जस्तो लाग्छ। म मेरै लागि केही न केही गरिरहेकै हुन्छु। मलाई चाहिने कुरा गरिरहेको हुन्छु। कतै कतैबाट कार्यक्रमहरूमा सहभागी हुने निम्ता आयो भने त्यता जान्छु। होइन भने आफ्नै रुपले घरमै बस्छु।’

समसामयिक घटनाक्रमबारे जानकारी लिन र मनोरञ्जनका लागि उनी रेडियो सुन्ने र टेलिभिजन हेर्ने गर्छन्। उनले भने, ‘म बिहानै रेडियो बजाउँदै योग गर्छु। दुई घण्टापछि म ध्यान गर्छु। मैले कतै गएर सिकेको होइन। आफैँ गर्दा गर्दै थाहा पाएर मलाई अनुकुल हुने योग गर्छु। अनि आफूलाई सहज हुने गरी ध्यान गर्छु। मनोरञ्जन लिन मन लागे टेलिभिजन हेर्छु। बेलुका ७ बजेदेखि साढे ८ बजेको समयसम्म टेलिभिजनका समाचारहरू हेर्ने गरेको छु।’ झाले हेर्ने च्यानलहरू के के भन्ने चाहिँ खुलाउन चाहेनन्। 

झाले अहिले थाइराइड, सुगर, उच्च रक्तचापको औषधि खान्छन्। यो औषधि कहिलेदेखि सेवन गर्दै हुनुहुन्छ भन्ने प्रश्नको ठट्यौली पारामा उत्तर दिँदै भने, ‘यो सबै उपराष्ट्रपति पदको देन हो।’

तपाईं त्यहाँ पुगेपछिमात्र स्वास्थ्य जाँच गरेर पो यस्तो भयो कि? भन्ने जिज्ञासामा उनले भने, ‘देशको कार्यकारी भूमिकामा रहेको व्यक्ति जब पदबाट हट्छ धेरै सेवासुविधा हटिहाल्छ। मैले पनि आफूले लिनुपर्ने सेवा सुविधाका लागि धेरै लडेँ। मलाई डाक्टरको सुविधा पनि भयो। त्यही बेला मेरै डाक्टरकै सिफारिसमा विभिन्न चेकजाँच गरियो। अनि यी सबै रोगको उपचार र औषधि खान थालियो।’

औषधिसँगै योगले पनि आफूलाई लागेका रोगको नियन्त्रण गरिरहेका झा बेला बेला चेकजाँचका लागि अस्पताल जाने गरेका छन्।

छैन विगतप्रति गुनासो, अब परमात्मालाई सोच्ने
पूर्वउपराष्ट्रपति झा विगतलाई सम्झन नै चाहँदैनन्। जीवनभर चिन्तामात्र लिएर नहुने तर्क गर्दै अबको सम्झना परमात्माको मात्रै हुने बताए। ‘विगत बारे के सम्झनु सोच्नु, सोचेर केही हुन्छ? हुँदैन। अनि एउटा मानिसले जीवनमा कहिलेसम्म के के सोच्ने हो। मर्ने बेलामा अब परमात्मालाई सोच्ने हो। अब यसपछिको गति के हुने भन्ने विषयमा सोच्छु।’

उनले अब लौरो टेकेर धार्मिक काममा नजुट्ने अठोट गरेका छन्। भन्छन्, ‘म धेरै पूजापाठ गर्दिनँ। ८० कटिसकेपछि अरूलाई दु:ख दिने गरी हिँड्न मन लाग्दैन। पहिले दैनिक मर्निङ वाकका रुपमा पशुपतिनाथ मन्दिर जान्थेँ। मन्दिरको दर्शन दैनिक गर्थेँ। तर अहिले छैन। किन जाने भन्ने लाग्छ। यो समयमा विगत सम्झेर मैले के गरेँ भनेर सोचेर कामै छैन। त्यो दु:ख मात्र हो। तपाईं जति विगत सम्झनुहुन्छ त्यति दु:ख पाउनु हुन्छ। त्यही भएर मेरो सुझाव पनि छ कि पहिले यस्तो त्यस्तो भनेर सम्झेर कामै छैन।’ 

आफ्नो जीवन र दैनिकीसँग एकदम खुसी झाले घर र परिवारसँगै खुसी बाँडेका छन्। अहिले लेख्न, पढ्न पनि खासै रुची लाग्दैन। यो उमेरमा अब सिकेर के काम भने जस्तो लाग्छ। 

पटक पटक रिटायर्ड जीवनको कुरा गरेका झाले ‘एउटा मानिस कामबाट कहिले रिटायर्ड हुँदो रहेछ?’ भन्ने प्रश्नमा जवाफ दिए, ‘सरकारले ६० वर्षदेखि रिटायर्ड भनेको छ। तर ६० देखि ८० वर्षसम्मको जीवन मैले आफूलाई सबैभन्दा उर्जाशील पाएँ। यही जीवनमा मैले आफूले आफूलाई धेरै चिने। त्यसैले यो समयको उमेर सबैभन्दा धेरै उत्पादनमूलक लाग्यो। अहिले चाहिँ पहिले जे गरेँ त्यसलाई खर्च गर्दै बस्ने हो।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १०:२०
Weather Update