News Griha :: न्यूजगृह
चैत्र मसान्तसम्म पुँजीगत खर्च ३२ प्रतिशत

काठमाडौं— चालु आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२.२४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको हो।

चालु आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको ९ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ।

चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो। हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख बराबर रहेको छ।

चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा हालसम्म ५६.४१ प्रतिशत अर्थात् ६ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख बराबर खर्च भएको छ। 

त्यसैगरी वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ५४.६४ अर्थात् एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर देखिएको छ। चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य छ। 

चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२.५ प्रतिशत अर्थात् ७ खर्ब ७३ अर्ब ३ करोड ६६ लाखमात्र राजश्व उठेको छ। जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१.४१ प्रतिशत अर्थात् ६ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५.७१ प्रतिशत अर्थात् ७६ अर्ब ९२ करोड ५६ लाख बराबर सङ्कलन भएको महालेखाले जनाएको छ। 

चालु आवका लागि सरकारले ४९ अर्ब ९४ करोड ३० लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०५:५९
Weather Update