News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालमा कति छन् हेलिकप्टर?
श्री एअरलाइन्सको हेलिकप्टर। फाइल तस्बिर

काठमाडौं— पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ। पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ। विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन्। बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकप्टरको सङ्ख्या बढाएको छ।

‘सिजनमा हेलिकप्टरको माग उत्साहवर्द्धक हुन्छ। हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्,’ उनले भने, ‘हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ।’ कम्पनीले एअरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो। यससँगै हेलि एभरेष्टका हेलिकप्टरको सङ्ख्या चार पुगेको छ।

कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो। यसअघि चैतको पहिलो साता मनाङ एअरले नयाँ हेलिकप्टर ल्याएको थियो। कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकप्टर ल्याएको हो। यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ।

Prabhu Bank

अल्टिच्युड एअरले पनि हेलिकप्टर थप्ने योजना बनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन्। यिमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन्। नेपाली सेनासँग छुट्टै ६ थान हेलिकप्टर छन्।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए। भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ। महङ्गो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिदै आएको छ।

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए। उनले हेलिकप्टरको सङ्ख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे।

 श्री एअरलाइन्ससँग ८ हेलिकप्टर छन्। कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बीआडी दुई छन्। एअर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एअर, हेली एभरेष्ट, अल्टिच्युड एअर र फिस्टेल एअरका समान दुई हेलिकप्टर छन्।

सिम्रिक एअरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ। चालु आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ। यो कम्पनीसँग एअरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन्। 

नेपालमा अहिले श्री एअरलाइन्स, सिम्रिक एअर, फिस्टेल एयर, अल्टिच्युड एअर, मनाङ एअर, मुस्ताङ हेलिकप्टर, एअर डाइनेस्टी, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन्। वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो। वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आँउछन्।

उनीहरु सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, लाङ्टाङ लगायत गन्तव्यमा पुग्छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १२:१०
Weather Update