News Griha :: न्यूजगृह
उद्योग विभागको लापर्बाही, एउटै ट्रेडमार्क दुई उद्योगलाई दिँदा विवाद

धनगढी— उद्योग विभागले एकै प्रकृतिका दुई फरक उद्योगलाई समान ट्रेडमार्क दर्ता गराइदिँदा उद्योगबीच विवाद भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१, चैनपुरमा रहेको न्यू घडी सर्फ उद्योग र कैलालीको जानुका एण्ड सन इन्डष्ट्रिज प्रा.लि.को ट्रेडमार्क एउटै हुँदा उनीहरूबीच विवाद भएको हो ।

जानुका एण्ड सन इन्डष्ट्रिज प्रा.लिले न्यू घडी सर्फ उद्योगको ट्रेडमार्क कपीराइट गरेको न्यू घडी सर्फ उद्योगका सञ्चालक पशुपतिप्रसाद कानुको आरोप छ । उनले ट्रेडमार्क कपीराइट र ब्याच नम्बर नराखी एकै प्रकृतिको सामाग्री बेचेको भन्दै कैलालीको लम्कीमा रहेको जानुका एण्ड सन इन्डष्ट्रिज प्रा.लि.विरुद्ध जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा मुद्दा दर्ता गरेको जानकारी दिए ।

Prabhu Bank

कानुले उद्योग न्यू घडी सर्फ २०६० सालमा उद्योग विभागमा दर्ता भई ट्रेडमार्क लिएर सञ्चालनमा ल्याएको बताए । तर जानुका एण्ड सनले न्यू सर्फको ट्रेडमार्कको दुरुस्त कपीराइट गरी सरफ उत्पादन गरेको कानु बताउँछन् ।

‘मैले सबै कानुनी प्रक्रिया पूरा गरेर विगत २० वर्षदेखि उद्योग सञ्चालन गर्दै आएको छु’, न्यू घडी सर्फका सञ्चालक कानुले भने,‘तर कैलालीको जानुका एण्ड सनले ट्रेडमार्क कपीराइट गरेर आफ्नो उत्पादन बिक्री गरिरहेको छ । यसविरुद्ध उद्योग विभागमा मुद्दा हाल्ने तयारीमा छु ।’

कानुनतः अन्य कम्पनीको ट्रेडमार्क कपीराइट गर्न पाइँदैन । कपीराइट गरेको प्रमाणित भए विभागले उत्पादन रोकेर कपीराइट गर्नेबाट क्षतिपूर्ति भराउन सक्छ । न्यू घडी सर्फले २० वर्षदेखि ‘हरा पत्ता’ नाममा सरफ उत्पादन गर्दै आएको सञ्चालक कानुले बताए । तर जानुका एण्ड सनले ट्रेडमार्क कपी गरेर ‘हरी–पाती’ नामक सरफ उत्पादन गरिरहेको कानुको दाबी छ ।   

ट्रेडमार्क कपीराइटको आरोप लागेको जानुका एण्ड सनको उत्पादन हरी–पातीका सञ्चालक सञ्जय बुढाथोकीले आफूहरूले उद्योग विभागबाट प्रमाणपत्र लिएर नै उत्पादन सुरु गरेको बताए । उनले उद्योग विभागमा प्रक्रिया  पुर्‍याएर उद्योग सञ्चालनमा ल्याएको र ट्रेडमार्क कपीराइट भए नभएको जाँच गर्ने निकायबाट नै आएकाले आफू निर्धक्क भएको बताए ।

‘उद्योग विभागमा दर्ता नभएको भए डराउन हुन्थ्यो । गल्ती केही गरेको छैन । ससाना कमजोरी भए होलान् यसलाई सुधार्छौं’, उनले भने, ‘ट्रेडमार्कको बारेमा भने अनुमति लिएका छौं ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:५५
राजनीति
विशेष
Weather Update