
काठमाडौं — ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ।
प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको हो।
प्रदर्शनकारीलाई रोक्नका लागि राखिएको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरबितर भएका छन्। प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै शहीदगेट कटाएको थियो।
प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। शाहीसँगै अन्य एक प्रदर्शनकारी पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ। १४ जना घाइते छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रहरीले आफ्ना दर्जनौँ कार्यकर्ता घाईते भएका छन्।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ।