
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शुरु गरेको प्रदर्शनका क्रममा सांसद तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेका छन्। प्रदर्शनका क्रममा मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि उनी भद्रकालीबाट पक्राउ परेका हुन्।
पक्राउ परेको केहीबेरमा उनलाई छोडिएको छ।
४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस सिंहदबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि झडप भएको हो।
जुलुसले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। राप्रपाको जुलुस लक्षित ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको छ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंकेन्द्रित जनप्रदर्शनको आयोजना गरेको हो।