
बझाङ — बझाङ प्रदेश सभा क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ। त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए।
उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैछ। उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाई निर्देशन दिएका थिए।
आगामी १५ वैशाखमा बझाङको प्रदेश सभा– १ मा उपचुनाव हुँदैछ। यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो।
निर्वाचन आयोगले उम्मेदवारलाई मंगलबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ। आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।