
काठमाडौं — आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ।
यसअघि माओवादी केन्द्रले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
शर्मालाई नाम फिर्ता लिन लगाउने विषयमा हिजो प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको थियो। केन्द्रमा भएको सहमति कार्यान्वयन गर्न माओवादीले जिल्ला कमिटीलाई निर्देशनसमेत दिइसकेको छ।
‘दुई अध्यक्ष बीच हिजो सहमति भएको हो। केन्द्रबाट निर्देशनसमेत दिइसकिएको छ,’ माओवादी स्रोतले भन्यो।
इलाम २ मा एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेदवार बनेका छन्।
कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन।