News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्रीलाई रोष्ट्रममा जान रोक्ने कांग्रेसको रणनीति

काठमाडौं — प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। 

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यद्यपि गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उनलाई रोष्टममा जान नदिने अडानमा छ। 

लामिछानेलाई सरकारका तर्फबाट विधेयक प्रस्तुत गर्न र सांसदका प्रश्नहरूको जवाफ दिन रोष्ट्रममा गए सदन अवरुद्ध गर्ने रणनीति कांग्रेसले लिएको छ। उसले प्रतिनिधि सभा बैठकको सुरुमा आकस्मिक समय मागेर सहकारी ठगीका विषय राख्ने र सदन चल्न दिँदै आएको छ ।

यता उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०७:०५
Weather Update