
काठमाडौं — सभामुख देवराज घिमिरे ४ ठूला दलका शीर्ष नेताहरूसँग छलफल बिनानिष्कर्ष टुंगिएको छ। संसद्मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए।
कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा छानबिन समिति माग गरेको विषयमा छलफल गर्न सभामुख घिमिरेले सोमबार बैठक बोलाएका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको बताए। अहिलेसम्म कांग्रेसले सदाशयतापूर्वक प्रस्तुत भए पनि अब सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने उनको भनाइ छ।
‘अहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ। सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ। सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशील/गम्भीर हुन सकेको छैन। हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ,’ प्रमुख सचेतक लेखकले भने।
बैठकपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको संसदीय छानबिनको मागमा आफूहरू सहमत हुन नसकेको बताए।
नेताहरूको प्रतिक्रियाले संसदीय छानबिनका लागि सत्तापक्ष तयार नभएको देखिन्छ। यसले सरकार–प्रतिपक्ष मुठभेडतर्फ जाने अवस्था देखिन्छ।
प्रतिनिधिसभाको बैठक मंगलबारका लागि बोलाइएको छ। कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबनाए सदन अवरुद्ध गर्न सक्ने चेतावनी दिँदै आएको छ।