
काठमाडौं — आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचन आयोगले छानबिन गर्ने भएको छ।
आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो। हिजो अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ।
उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ।
शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियाे। यद्यपि, कुनै उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, आयोगले उम्मेदवारलाई भोलि मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ। आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।