News Griha :: न्यूजगृह
खगराजविरुद्ध कांग्रेस सर्वोच्च जाने

काठमाडौं— नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ।

सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस गण्डकी सर्वोच्च जाने तयारीमा लागेको हो। नेपाली कांग्रेस गण्डकी, संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले भने, ‘सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरेका छौं।’

आइतबार बिहान खगराज अधिकारीले बहुमत सांसदहरूको समर्थन सहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसले ३१ जनाको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुख समक्ष माग राखेको थियो।

तर संविधानको धारा १६८ (२) बमोजिम आह्वान भएको र दलको तर्फबाट दाबी पेस भएकाले सनाखत जरुरी नभएको एमाले नेताहरूको दाबीलाई नै सदर गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई नियुक्त गरिसकेका छन्।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:११
Weather Update