
पोखरा — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
अधिकारीले आइतबार मात्रै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन्। यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्।
३१ सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र मनाङेको पनि हस्ताक्षर