News Griha :: न्यूजगृह
पीडितमाथिको प्रहरी दमनबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद सुवाल

काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरूमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उनको भनाइ छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले सरकारले संविधानमा उल्लेख गरिएको वाक स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकको हनन् हुनेगरी उनीहरूमाथि प्रहरी लगाएर लाठी प्रहार गर्न लगाएको भन्दै त्यसो नगर्न पनि सचेत गराए । 

उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दबाब दिए । 

‘जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसदमा स्पष्ट गर्न लगाउनु आवश्यक छ,’ उनले भने, ‘मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी छ ।’

सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको पनि दोहोर्‍याए । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:४०
Weather Update