News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित

काठमाडौं — नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ। 

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको पुष्टि गरे।  

Prabhu Bank

कुल ३२ जनाविरुद्ध मुद्दा दायर गरिएकोमा आपूर्तिकर्तासहित ८ जना विदेशी नागरिक छन् ।

शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन्। तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए। कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन्।

प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुन्। उनी तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी जहाज खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए।

त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन्। त्यसबेला पनि सहसचिव नै थिए। अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए।

पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकाश प्राप्त हुन्। त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए।

यस भ्रष्‍टाचार प्रकरणमा विमान आपूर्तिकर्ताविरुद्ध पनि मुद्दा चलाइएको छ।  

प्रेसिडेन्ट इन्टरनेशनल सप्लाइ चेन, एएआर कोर्प. इन्क युएसए एवं बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाइ एक्स आइरल्यान्ड लिमिटेडका डाइरेक्टर एवं‌ जर्मन एभिएसन क्यापिटल जर्मनी/सिंगापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्टियन नुइह्लिन र त्यस कम्पनीका फाइनान्स डाइरेक्टर एवम् रोमानीया एन्ड माल्डोभाका नागरिक ओलेग कालिस्ट्रुविरूद्ध पनि मुद्दा दायर भएको हो।

एएआर इन्टरनेसनल इन्क र उक्त कम्पनीका मुख्य व्यक्ति जोन एम होल्मस, जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका मुख्य व्यक्ति एना टोपा, हाइफ्लाइ ट्रान्सपोर्टी एरियोस पोर्चुगल र उक्त कम्पनीका मुख्य व्यक्ति पाउलो मिरपुरि, हाइफ्लाइ र उक्त कम्पनीका मुख्य व्यक्ति जेराल्ड थोर्नटन, नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र उक्त कम्पनीका हेड अफ अभिएसन मार्कस राडब्रच र सिनियर कन्सल्ट्यान्टको हकमा पनि मुद्दा दायर भएको छ। 

उनीहरूविरुद्ध एक करोड ३३ लाख ८८ हजार १०९ डलर बराबरको बिगो मागदाबी गरिएको छ। 

२०७३ सालमा करिब २४ अर्ब रुपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो। निगमले दुईवटा वाइडबडी विमान भित्र्याए लगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै विरोध हुन थालेको थियो। 

संसद्को सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:५९
Weather Update