
काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बझाङ प्रदेशसभा क्षेत्र नं. १ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको टिकट अभिषेक सिंहलाई दिएको छ।
उनी दिवंगत नेता पृथ्वीबहादुर सिंहपुत्र हुन्। पृथ्वीबहादुरको दुर्घनामा परी निधन भएपछि बझाङमा उपनिर्वाचन हुन लागेको हो। उनी सुदूरपश्चिम प्रदेशका मन्त्रीसमेत थिए। मन्त्रीमा बहाल रहेकै समयमा उनी सवार जीप दुर्घनामा परेको थियो।
तीन दिनसम्मको विवादपछि बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई टिकट दिने निर्णय गरेको हो।
मंगलबार र बुधबार कांग्रेस सभापति देउवा निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अभिषेक क्षमतावान पनि भएकाले उनैलाई टिकट दिनेबारे छलफल भएको थियो।
त्यही छलफललाई निरन्तरता दिँदै बिहीबार बिहान बसेको संसदीय बोर्डको बैठकले अभिषेकलाई बुबाको स्थानमा उठाउने निर्णय गरेको हो।
त्यस्तै, कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।