News Griha :: न्यूजगृह
निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं — सर्वोच्च अदालतले थुनामा राखेर वैवाहिक बलात्कार मुद्दामा पुर्पक्ष गर्न आदेश दिएसँगै निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्।

उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। मुद्दाको सुनवाइका लागि उनी सर्वोच्चमा उपस्थित थिए ।

श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो। जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो भने उच्चले जिल्लाको निर्णय सदर गरेको थियो। त्यसलाई उल्टाएर सर्वोच्चले गिरीलाई फेरि थुनामा पठाएको छ।

कपिलवस्तु जिल्ला अदालतमा वैवाहिक बलात्कारको मुद्दा दिएकी आरतीले काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर गरेकी थिइन्। सम्वन्धविच्छेदको मुद्दा चलिरहेको अवस्थामा गिरीले आफूलाई कोठामै आएर रातभर बलात्कार गरेको उनको आरोप छ। उक्त मुद्दाको अन्तिम फैसला भोलि जिल्ला अदालतले सुनाउने भएको छ।

सर्वोच्च अदालतमा आज मुद्दाको सुनवाइ हुँदै गर्दा आरतीले विष सेवन गरेकी थिइन्। उनलाई तत्काल वीर अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परिक्षणबाट विष खाएको पुष्टि भएको छ।

तर, शरीरमा कुनै असर नगरिसकेको स्रोतले बतायो।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:४१
Weather Update