काठमाडौं — कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेकी हुन्।
न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा बुधबार फाँट नम्बर ७ मा चलिरहेको थियो। सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन्।
श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ गते गिरीलाई पक्राउ गरेर कपिलवस्तु लग्यो।
तर, अदालतले उनलाई धरौटीमा छोडेको हो। सामाखुसीस्थित डेरामा पनि आफूमाथि जबरजस्ती करणी गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिइन्। गत वैशाख १७ गते काठमाडौं जिल्ला अदालतमा पनि बलात्कारको मुद्दा दायर भएको थियो। जिल्लाले पनि गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो।
उक्त आदेशविरुद्ध उनले उच्च अदालत, पाटनमा पुनरावेदन गरिन्। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेकी आरतीले गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै आएकी छन्।
आरतीले यसअघि सर्वोच्च परिसरमा आत्मदाहको प्रयाससमेत गरेकी थिइन्।
यो पनि
निलम्बित न्यायाधीश गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा, लागेको छ वैवाहिक बलात्कारको आरोप
न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश