News Griha :: न्यूजगृह
व्यावसायिक च्याउ खेती गर्दा यसरी हुन्छ आम्दानी

कैलाली— पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन्। व्यावसायिक च्याउखेतीमा लागेकी उनी गाउँमा नमुना किसानको रुपमा परिचित छन्। 

०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ। उनले व्यवसायलाई बढाउँदै गएकी छन्। ‘मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन। उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन। घरबाटै सबै बिक्री हुन्छ’, उनले भनिन्। 

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन्। गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन्। 

लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु’, उनले भनिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।’ 

उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन्। अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ। ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ’, उनले भनिन्। 

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन्। उनले च्याउखेतीमा करिब ५० लाख लगानी गरिसका छन्। व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै  लगाउँदै आएका छन्। ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो। करिब ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ’, उनले भने। 

च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन्। जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ। च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त छन्। उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेती गर्न प्रेरित गर्दै आएका छन्। 

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती गर्न थालिन्। पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाए। साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् अनि व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन। 

परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढी बसेकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु।’

१२ महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन्। यो वर्ष एक लाख लगानी गरेकी उनले च्याउ खेतीबाट ६ लाख आम्दानी गरेकी छन्। ‘च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ। लगानीभन्दा आम्दानी तेब्बर छ’, उनले भनिन्। उनको पाँचजना परिवारका पाँचै जना च्याउखेतीमा छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:३६
Weather Update